लाइसेन्सका लागि आवेदन फारम खुल्न अझै समय लाग्ने

काठमाण्डौं/नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन फारम खुल्न अझै समय लाग्ने भएको छ ।
यातायात व्यवस्था विभागले अनलाइन फारम बन्द गर्नुअघि फारम भरेकाहरुको प्रयोगात्मक परीक्षा सकेपछि मात्रै नयाँ लाइसेन्सको लागि आवेदन माग्ने तयारी गरेको हो । बैशाख महिनाभित्र सबैको ट्रायल लिएर जेठ १ गतेदेखि नयाँ आवेदन खोल्ने तयारी गरिएको विभागले जनाएको छ ।
पुराना आवेदनका परीक्षार्थीका परीक्षा सकेपछि नयाँ आवेदन खोल्ने र एक साताभित्रै परीक्षा लिने व्यवस्था मिलाउने विभागको भनाइ छ । नयाँ लाइसेन्सका लागि झण्डै ६ लाखले आवेदन दिएकामा यो सङ्ख्या कम भएपछि मात्रै विभागले नयाँ आवेदन खुला गर्नेछ । गत चैत १ गतेदेखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिएको छ ।