भीमबहादुर विकको हत्या आरोप लागेका श्रेष्ठलाई ६ महिना कैद, बस्नेतले पाए सफाइ

चितवन/भीमबहादुर विकको हत्या आरोप लागेका दुई आरोपितबारे चितवन अदालतले शुक्रबार फैसला सुनाएको छ ।

न्यायाधीश गायत्री रेग्मीको इजलासले गरेको फैसलाअनुसार आरोपित दिलीप श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिएको छ भने अर्का आरोपित सीताराम बस्नेतले सफाइ पाएकोअदालतका सूचना अधिकारी श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिए ।

आवेशप्रेरित हत्या भनी मुद्दा चलाइएकोमा अन्ततः अदालतले भवितव्य ज्यानमा मुद्दा परिणत गराएको छ । प्रहरी हिरासतमा बसेको दिनदेखि कैद समय गणना हुने हुँदा चैत २८ गते ६ महिना पुग्ने देखिन्छ । हालसम्म दुवै आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

भरतपुर–४ स्थित दुर्गाचोकमा रहेको दुर्गा मन्दिरमा दसैँका बेला बोका चढाउने विषयमा भीमबहादुरले सोधखोज गर्दा गालीगलौच र कुटपिट भएको मृतकको परिवारको आरोप थियो । असोज २८ गते बिहीबार दुर्गाचोकमा स्थानीय ३७ वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठले कुटपिट गरी हत्या गरेको भनी मृतकका छोरा किसान विकले प्रहरीमा जाहेरी दिएका थिए ।

आरोपितहरुलाई सोही दिन नै नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेकोमा कात्तिक २२ गते आरोपित दुवैजना पुर्पक्षका लागि थुनामा गएका थिए । आवेशप्रेरित हत्या भनी मुद्दा चलेको छ । सामाजिक सद्भावमै खलल पुग्ने गरी बाहिर विरोधका कार्यक्रमहरु भएपछि भरतपुर–४, दुर्गाचोकस्थित दुर्गा मन्दिरमा दलित र गैरदलित समुदायको उपस्थितिमा सामूहिक पूजा गरिएको थियो ।

मृतकको परिवारले गृह मन्त्रालयबाट १० लाख रूपैयाँ राहत रकम पाएका छन् । राहत रकम र दोषीलाई कानुनी कारबाहीको माग गर्दै परिवारले भीमको शव बुझेको थिएन । घटना भएको तीन महिनापछि मात्र आफन्तले शव बुझेका थिए । विकको मृत्युसम्बन्धमा जाँचबुझका लागि मानवअधिकार आयोग, दलित आयोग र विभिन्न सामाजिक संघसंस्थाको टोली चितवन आएको थियो ।