टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान तोकिएकै समयमा सम्पन्न गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

हेटौंडा/टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान तोकिएकै समयमा सम्पन्न गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले निर्देशन दिएका छन् ।

मनहरी गाउँपालिका–५ मा रहेको भोजसिद्ध माविमा शुक्रबार आयोजित कार्यक्रममा खोप अभियान उद्घाटन गर्दै मन्त्री खतिवडाले टाइफाइडविरुद्धको खोप अभियानले धेरै नेपालीलाई राहत मिल्ने बताए ।
टाइफाइडविरुद्धको खोप पूर्ण रुपमा सुरक्षित र राम्रो भएको बताउँदै मन्त्री खतिवडाले ढुक्क भएर आफ्ना बालबालिकालाई सहभागी गराउन र प्रभावकारी ढंगले सञ्चालन गर्न अनुरोध गरेका छन् । यो खोप अभियान देशैभर १८ वैशाखसम्म सञ्चालन हुने छ ।

देशभर १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिकालाई खोप प्रदान गरिने उनले बताए । देशैभर करिब ५० हजार बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष जनशक्ति र स्वयम्सेवकको व्यवस्थापन गरिएको उनले जानकारी दिए । यस खोप अभियानमा मकवानपुरका १ लाख ९ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ ।