दलाल संसदीय ब्यबस्थाको चुनावमा भाग लिन्नौ !
चितवन/नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले संसदीय व्यवस्थाको चुनावमा आफ्नो पार्टीले भाग नलिने बताएका छन् । जनआन्दोलन दिवसको अवसरमा आज (बिहीबार) भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै यो दलाल ब्यबस्थाको चुनाबमा भाग नलिने बताएका छन्।
जनता जागरुक हुँदै गएपछि संसदीय व्यवस्था ढल्न फेरि पनि चैत्र २४ आउने तर्फ संकेत गरे।
संसदीय व्यवस्था दलाल पुँजीपति वर्गको व्यवस्था भएको भन्दै उनले जनताले शासन गर्न पाउने व्यवस्था ल्याउन वैज्ञानिक समाजवादको व्यवस्था लागू गर्नुपर्ने बताए । नेकपाले कहिल्यै पनि संसदीय व्यवस्थालाई स्वीकार नगर्ने भन्दै उनले यो व्यवस्था दलाल र पुँजीपति वर्गको मात्रै व्यवस्था भएको बताए ।
‘यदि चुनाव नै गर्नुपर्छ भने ठिक छ । संसदीय व्यवस्थाको चुनाव होइन । संसदको चुनाव होइन । जनमत संग्रह गरौँ । व्यवस्थाको चुनाव गरौँ । नेपालमा संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवाद ठिक । हामी त्यसका लागि तयार छौँ’, उनले भने ।
२०३६ सालमा पञ्चायत र बहुदलबीच जनमतसंग्रह गरेजस्तै अहिले संसदीय व्यवस्था र बैज्ञानिक समाजवादको बीचमा जनमतसंग्रह गर्नुपर्ने उनले बताए । ‘हामी चुनौती दिन चाहन्छौँ । व्यवस्थाको चुनाव गरेर देखाउ । हामी त्यो चुनावमा लड्न तयार छौँ । भाग लिन तयार छौँ’, उनले भने ।
‘संसदीय व्यवस्थाको चुनाव लुटेराको चुनाव हो । ठेकेदारको चुनाव हो’, उनले भने, ‘दलाल पुँजीपति वर्गहरु संसदीय व्यवस्थामा कालो धन थुपार्छन् र त्यही कालो धनको बलमा फेरि चुनाव जित्छन् ।’ कांग्रेस, एमाले र माओवादी केन्द्रको अक्षमताका कारण देशमा चरम महंगी बढेको र आर्थिक संकट निम्तिन लागेको उनले बताए । त्यस्तै, एमसिसी परियोजना ल्याएर दलहरुले देश नै बेच्न लागेको उनले आरोप लगाए ।
३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनावमा एमसीसी सम्झौता पास गर्ने, देशलाई बेचेर खाने पार्टीका उमेदवारविरुद्ध उमेदवारी दिन उनले आग्रह गरे ।