अज्ञात समुहले चलाएको गोली लागेर एक भारतीय युवकको मृत्य
काठमाण्डौ/अज्ञात समुहले चलएको गोली लागेर सर्लाहीको सदरमुकाम मलङ्गवामा एक भारतीय युवकको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–८ मा हिजो बेलुका पहिचान नखुलेको समूहले गोली चलाउँदा भारत विसनपुर आधार पञ्चायत घर भएका इन्दल महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको थियो । तर, डाक्टरले मृत घोषणा गरेका थिए । सर्लाहीका सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाका अनुसार मृतक महतोको पाखुरासहित शरीरका तीन ठाउँमा गोली लागेको थियो ।
महतोलाई मोटरसाइकलमा भारतबाट आउँदै गर्दा मोटरसाइकलमै आइरहेका अज्ञात व्यक्तिले गोली हानेर फरार भएका हुन् । सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले फरार व्यक्तिको खोजी भइरहेको र घटनाको विषयमा थप अनुसन्धान चलिरहेको बताउनुभयो।