प्रधानमन्त्री देउवा आज भारत भ्रमण जाँदै
एमालेले उठायो प्रश्न भ्रमण पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले ?
काठमाडौँ /प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् ।
यसैबिच प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री देउवाको भारत भ्रमणमा प्रश्न उठाएको छ ।
मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आपत्ति जनाएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, “प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठुलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन ।”
देउवाको भ्रमण निजी÷पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै रिजालले प्रश्न उठाएका हुन् ।