नायक पल शाह आज उच्च अदालत जाने
तनहुँ । जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह आज उच्च अदालत पोखरा जाने भएका छन् । जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका हुन् ।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदै छ ।
पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो । ‘समय अभावका कारण हिजो जान सकेनौँ । आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिँदैछौँ’, उनले भने ।
पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखेपनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिन लागेको उनको भनाइ छ । “थुनामा राख्न गरिएको तनहुँ जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत छैन । जिल्ला अदालतको आदेश बदर गरेर तारेखमा राखी मुद्दाको पुर्पक्ष गरी पाउँ भनेर तल्लो अदालतले गरेको आदेशको उपरमा माथिल्लो अदालतमा दिन पाइने कानुनी व्यवस्था अनुसार पुनरावेदन दिँदैछौँ,” उनले भने ।
घटना भएको लामो समय पछि मात्रै उजुरी दिइएको, बलात्कार भएको भनिएको भोलिपल्ट बिहानै बलात्कृत भनिएकी बालिका पलसँगै ढोरवाराही मन्दिर दर्शनमा गएको र उमेर शंकास्पद भएकाले कानुनसम्मत नभएको वरिष्ठ अधिवक्ता वाग्लेको जिकिर छ ।
जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरेको हो । जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजालसमा पलका म्यानेजर कृष्णप्रसाद जोशिलाई भने एक लाख रुपैयाँ धरौटीमा तारेखामा छाडिएको छ । ७ चैतमा अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा ८ चैतमा सरकारीको वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेको थियो ।
गायिकालाई सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेममको झुठो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।