कुसुमखोलामा रहेको १० घरमा चितवन राष्ट्रिय निकुञ्जले लगायो आगो

आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै चितवन राष्ट्रियले कुसुमखोलाको १० घरमा आइतबार आगो लगाइदिएको छ ।

चितवन/ आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै माडीको कुसुमखोलामा रहेको १० घरमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गरिदिएको छ ।चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीको नेतृत्वमा गएका नेपाली सेना सहितको टीमले स्थानीय बासिन्दाको १० घरमा आइतबार आगो लगाइदिएको हो ।

‘एकपटक स्थानान्तरण गरिसकेपछि पुनः गएर घर बनाएको हुनाले निकुञ्जले घर जलाएको हो’ निकुञ्ज स्रोतले भन्यो, ‘मानवीय र भौतिक क्षति नहुने गरि नयाँ बनाइएको संरचनामा मात्रै आगो लगाइएको हो ।’

स्थानीय बासिन्दाले भने निकुञ्ज प्रशासनले नागरिकता समेत जलाइदिएको आरोप लगाएका छन् । उनीहरूले स्थानीय बासिन्दाको नागरिकता सहितको महत्वपूर्ण कागजात समेत निकाल्न नदिइ घरमा आगजनी गरेको आरोप लगाएका छन् । माडीका अगुवा स्थानीय श्रीप्रसाद दवाडीले स्थानीयले आकाश भुजेलको घर र नागरिकता समेत जलाइदिएको आफूलाई जानकारी आएको बताउनुभयो ।

आगजनी भएको खबर पाएसंगै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल सहितको टीम सो क्षेत्रमा आइतबार साँझ नै पुगेको छ । नगरप्रमुख ढकालले कुसुमखोलाका जनतालाई सुरक्षित स्थानान्तरणको काम जारी रहँदा स्थानीय सरकारसंग समन्वय नगरी आगजनी गरिनु दुखद् रहेको बताउनुभयो ।

यसअघि माडी नगरपालिकाले कुसुमखोला लगायतका निकुञ्जको क्षेत्रका बासिन्दाहरु बाढी, जंगली जनावरको जोखिममा रहेको भन्दै दुई सय भन्दा बढी घरधुरी स्थानान्तरण गरेको थियो । त्यस क्षेत्रका सुकुम्बासीलाई माडीको ७, ८ र ९ नम्बर वडाका विभिन्न क्षेत्रमा राखिएको छ ।