पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि
काठमाडौं/पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको हो ।
भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायको भनाई छ ।
प्राप्त नयाँ मूल्य सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्याँसमा ६६५ रुपैयाँ घाटा हुने जनाइएको छ । यस हिसाबले निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड र मासिक ६ अर्ब १८ करोड घाटा हुने उपाध्यायको भनाई छ ।
निगमले जनाए अनुसार मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको छ ।