अभिनेता पल शाहविरुद्ध बलात्कार सम्बन्धी अर्को जाहेरी
चितवन /अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी परेको छ । इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन् ।
प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।
प्रहरीका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुनेरनहुने टुंगो हुनेछ । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर, उनी फरार भएका थिए ।
आइतबार शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् । उनी हाजिर भइसकेपछि गैंडाकोटमा जाहेरी दर्ता हुन लागेको हो ।