युक्रेनमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न माग

काठमाण्डौं/युक्रेनमा सुरक्षा जोखिममा रहेका विद्यार्थीहरु तथा सम्पूर्ण नेपाली नागरिकहरुको उद्धार गर्न अनेरास्ववियू (क्रान्तिकारी) ले सरकारसँग माग गरेको छ । क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जारी गरेको विज्ञप्तिमा रुस–युक्रेन तनावले युद्धको रुप लिएपछि युक्रेनमा उत्पन्न परिस्थिति र बढ्दै गएको सुरक्षा खतरा तथा त्यसबाट नेपाली विद्यार्थी लगायत त्यहाँ रहेका नेपाली समुदायमा परेको संकट प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

विदेशी भूमिमा रहेका नागरिकहरुमा प्राकृतिक विपत्ति, युद्ध र महामारीबाट सुरक्षा खतरा उत्पन्न हुँदा आफ्ना नागरिकको जिउधनको सुरक्षा गर्नु हरेक मुलुकका सरकारको पहिलो कर्तव्य हुने भन्दै सिंहले संकटमा परेका नागरिकहरुलाई सुरक्षित रहन अपिल गर्ने एउटा सामान्य विज्ञप्ति मात्रले राज्यको आफ्ना नागरिक प्रतिको जिम्मेवारी कदापी पुरा हुन नसक्ने बताएकी छन् ।