भारतीय नक्कली रुपैयाँसहित तीन जना पक्राउ
काठमाडौं/प्रहरीले भारतीय नक्कली रुपैयाँसहित तीन भारतीय नागरिकलाई विराटनगरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको पूर्णियाथाना ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनीको सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम रहेका छन् ।
विराटनगर—१३ स्थित नहरचोकबाट सिआरभी जतुवाको टोलीले नियमित जाँचका क्रममा टेम्पोमा सवार उनीहरू प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट विराटनगरतर्फ आइरहेका तीनै जनालाई ४८ वटा १ सय रुपैयाँको भारतीय नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी डिएसपी मञ्जिल मुकारुङले बताए ।
उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।