सर्लाहीमा स्यालको टोकाइबाट १२ जना घाइते

सर्लाही/रासस/विष्णु गाउँपालिकाको विभिन्न स्थानमा स्यालको टोकाइबाट १२ जना घाइते भएका छन् । मंगलबार बिहान जङ्गलबाट बस्तीमा स्याल प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो ।

स्यालको टोकाइबाट घाइते भएका सबैको प्रादेशिक अस्पाताल मलङ्गवामा समान्य उपचार गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ९ जनालाई काठमाडौंको टेकु अस्पतालमा पठाइएको छ भने तीन जनाको मलङ्गवा अस्पतालमै उपचार भइरहेको छ । स्यालको टोकाइबाट गहिरो घाउ लागेकाले घाइतेहरूलाई काठमाडौं पठाइएको प्रादेशिक अस्पताल मलङ्गवाका डा। गौतम झाले जानकारी दिए ।

स्यालले टोक्दा लगाउने ‘इम्युनोग्लोमिन भ्याक्सिन’ कामाडौंमा मात्र पाइने भएकोले घाइतेलाई यहाँबाट काठमाडौं पठाउनु परेको उनले बताए । भारतीय सीमावर्ती सो विष्णु गाउँपालिकामा आज बिहान अचानक स्याल गाउँ पसेर जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतङ्कित बनेका छन् ।

स्यालको टोकाइबाट विष्णु –४ मधुवन गोठका ६५ वर्षीय बिलट चौधर, ७२ वर्षीय शङ्कर चौधरी, ५४ वर्षीय भाग्यनारायण राय, २५ वर्षीय प्रमेश चौधरी, २८ वर्षीया रञ्जना कुमारी साह उनका ५ वर्षीय छोरा अनमोल साह घाइते भएका छन् ।

त्यस्तै, विष्णु –२ बारा उद्योरणका ३५ वर्षीय रामबाबु राय, ५८ वर्षीय रामानन्दप्रसाद यादव, ५० वर्षीय झरिलाल ठाकुर, ६० वर्षीय महेन्द्र बैठा, ६ वर्षीय सुभाष बैठा र ७० वर्षीय सम्झादेवी झालगायत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कतिपय घाइतेहरू अझै अस्पतालमा आइनपुगेको प्रहरीको भनाइ छ । स्यालले पशु चौपायालाई समेत टोकेर घाइते भएको स्थानीयवासीले जनाएका छन् ।