केही दिन मौसम बद्ली हुने

काठमाण्डौ/आज दिउँसो पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसम बद्ली भइ सामान्य वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । अहिले देशको पहाडी भूभागमा आंशिक बद्लीको साथै तराईमा हुस्सु र कुहिरो लागेको छ । मौसमी प्रणालीको आंशिक प्रभाव रहेको र आउँदो तीन दिनसम्म बद्ली, वर्षा र हिमपात गराउने महाशाखाले जनाएको छ ।
मौसम बद्लीका कारण बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ । यस्तै पहाडी भू–भागको केही ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित सामान्य वर्षा र उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेकोले त्यसको प्रभावबाट जोगिन महाशाखाको अनुरोध छ ।