घाँटी च्यापेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती र प्रेमी पक्राउ
दाङ/प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा दाङमा श्रीमती र उनको प्रेमीलाई पक्राउ गरेको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नं. ३ बसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका वडा नं.३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीले आफ्नो श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी गएको फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा नभएको भन्दै श्रीमानको खोजतलासको लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।
खोजतलास गर्ने क्रममा प्रहरीले फागुन ५ गते बेलुका ६ गढवा गाउँपालिका वडा नं. २ कोठरीको राप्ती नदीमा चौधरीको शव फेला पारेको थियो । घटना शङ्कास्पद रहेपछि प्रहरीले उमादेवीलाई सोधपुछ गर्दा मसुरियाका हनुमान चौधरीसँग अवैध प्रेम सम्बन्ध रहेको भनी श्रीमानले बेइज्जत गरेकाले हत्या गरेको स्वीकार गरेको थिइन् । योजना अनुसार हनुमानले माघ २९ गते राति लप्टेनको घरमा आएर उनलाई मुड्कीले हानेर घाँटी च्यापेर हत्या गरेको र मृत शरीर बोकेर राप्ती नदीमा फालेको प्रहरीको भनाइ छ ।