चितवन राष्ट्रिय निकुञ्जमा माउ र बच्चा गैंडा मृत भेटिए

चितवन/चितवन राष्ट्रिय निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै माउ र बच्चा गैंडा मृत फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अन्दाजी २२ वर्षको पोथी गैंडा र चार महिनाको पोथी बच्चा पूर्वी नवलपरासीको सिसुवार मध्यवर्ती सामुदायिक वनमा मंगलबार मृत फेला परेको हो ।
गैंडाको खाग र खुर सुरक्षित छन् । गैंडाको मृत्युको कारण खुलेको छैन ।

निकुञ्जका एक अधिकारीका अनुसार बच्चा र माउ गैंडाको शरीरमा चिथोरिएका घाउ देखिएको छ । त्यसैले बाघको आक्रमणमा परी मरेको हो कि भन्ने अनुमान गरिएको छ । निकुञ्जका सूचना अधिकारी तिवारीले पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने बताए ।