वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने
काठमाण्डौं/आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि करिब १ करोड ८० लाख मतदाता हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आगामी वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपालको निर्वाचन इतिहासमा पहिलो पटक निर्वाचन हुने दिन भन्दा अघिल्लो दिनलाई आधार मानी १८ वर्ष उमेर पुग्ने दिनलाई कट अफ डेट मानेर मताधिकार प्रयोग गर्न पाउने सुनिश्चित गरेको बताउनुभयो ।
संविान तथा कानूनमा भएको व्यवस्था बमोजिम आयोगले अन्तिम मतदाता नामावली तयारी गर्ने, निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, मतदाता शिक्षा सामग्री तयारी तथा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने लगाएत काम गरिरहेको छ ।