भिरबाट लडेर दुई जनाको मृत्यु

सोलुखुम्बु/भिरबाट लडेर सोलुखुम्बुमा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुसार सोलुदूधकुण्ड नगरपालिका–२ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका(१ खोर्दाका २६ वर्षीय तेजबहादुर लामिछानेको भिरबाट लडेर मृत्यु भएको हो ।
लामाको लबुचे भिरबाट लडेर मृत्यु भएको हो भने लामिछानेको सोताङ गाउँपालिका(१ मा रहेको हुँगा दूधकोसी सामुदायिक वनको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गएको बिहीवार छोराको घर जान्छु भनेर हिँडेका लामाको तीन दिनसम्म गन्तव्यमा नपुगेको खबर आफन्तले दिएपछि खोजतलास गर्दा भिरबाट लडेर ज्यान गएको भएको अवस्थामा हिजो शव भेटिएको हो ।

यस्तै लामिछानेको सामुदायिक वनमा घाँस काट्न जाने क्रममा हिजो भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।