तामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै

काठमाण्डौं/आज तामाङ समुदायले सोनाम ल्होसार मनाउँदैे छ । माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार अर्थात नयाँ वर्ष मनाउने गरेको हो ।
यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदान–प्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्याल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।