माओवादी केन्द्रको महासचिवमा वर्षमान पुनको दावी
काठमाण्डौं/नेकपा माओवादी केन्द्रको महासचिवमा आफ्नो नाममा सहमति हुने नेता वर्षमान पुनले विश्वास व्यक्त गर्नुभएको छ । उपचारपछि चीनबाट हिजो साँझ स्वदेश फर्कनुभएका नेता पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू महासचिव पदको दाबेदार रहेको बताउनुभयो ।
सकेसम्म सहमति हुनेमा विश्वस्त रहेको उल्लेख गर्दै उहाँले निर्वाचन नै भए पनि त्यसको लागि आफू तयार रहेको बताउनुभयो । माओवादी केन्द्रीय समितिको यसअघिको बैठक स्थगित भए पनि यही माघ २७ गतेका लागि अध्यक्ष प्रचण्डले बैठक बोलाउनुभएको छ ।
बैठकले माओवादीको विधान बमोजिम पदाधिकारी एवम् स्थायी समिति टुङ्गो लगाउने जनाइएको छ । केही दिनअघि काठमाडौँमा सम्पन्न माओवादी केन्द्रको आठौँ महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो ।