विश्वभर कोरोना सङ्क्रमणका कारण ५६ लाख भन्दा बढीको मृत्यु
काठमाण्डौं/कोरोना सङ्क्रमणका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको छ ।
कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएपछि मृत्युदर कम रहेपनि पछिल्लो एक सातादेखि मृत्युदर बढेको छ । गत २४ घन्टामा मात्रै विश्वभर ९ हजार २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
पछिल्लो समय अमेरिका, बेलायत, भारत, रुस, फ्रान्स लगायतका मुलुकमा कोरोनाका कारण मृत्यु हुनेदर बढेको छ । गत २४ घन्टामा अमेरिकामा २ हजार ७ सय ७७, रुसमा ६ सय ९२, भारतमा ४ सय ८९, ब्राजिलमा ३ सय ९६, इटलीमा ३ सय ७३, मेक्सिकोमा २ सय ७८, बेलायतमा २ सय ८८ र पोल्याण्डमा २ सय ४८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५६ लाख ३ हजार ४० पुगेको छ ।
कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार गत २४ घन्टामा विश्वभर ३६ लाख ३२ हजार ८ सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३४ करोड ६७ लाख ८६ हजार ४ सय ४९ पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये २७ करोड ६५ लाख ६९ हजार ९ सय ९८ जना स्वस्थ भएका छन् ।