अबको तीन दिन पानी र हिउँ पर्ने सम्भावना
काठमाण्डौं/देशका विभिन्न ठाउँमा अबको तीन दिन पानी र हिउँ परेर चिसो बढ्ने सम्भावना रहेको छ । हिउँ र पानी परेपछि चिसो बढ्ने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले दिउँसो देशका विभिन्न ठाउँमा वर्षा र हिमपात गराउने सम्भावना छ । तर लगातार झरीको सम्भावना भने नरहेको उहाँले बताउनुभयो ।
यही प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै देशभरको पहाडी भेटको मौसम अांशिकदेखि सामान्य बदली रहेको उहाँले सीआइएनलाई जानकारी दिनुभयो । यस्तै तराईमा भने हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली भइ पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ । यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली भइ प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।