शुक्रवारदेखि मनकामना मन्दिरमा भक्तजनको प्रवेशमा रोक
गोरखा/आगामी माघ ७ गते शुक्रवारदेखि माघ मसान्तसम्म गोरखाको मनकामना मन्दिरमा नित्य पूजा बाहेक सबै धार्मिक गतिविधिमा रोक लगाइने भएको छ ।
मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेबिन्द्र गुरुङका अनुसार कोरोना संक्रमण बढ्दै गएकाले भक्तजनहरुको प्रवेशमा रोक लगाउने निर्णय भएको हो। मनकामना क्षेत्र विकास समितिको बैठकले आगामी शुक्रवारदेखि आन्तरिक रुपमा नित्य पूजा मात्रै गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना गर्दै मन्दिरमा भक्तजनको प्रवेशमा रोक लगाउने निर्णय भएको गुरुङले जानकारी दिनुभयो ।
बलीपूजा, लाखवत्ति बाल्ने जस्ता धार्मिक कार्यक्रम गर्नका लागि मन्दिरमा नआउन पनि क्षेत्र विकास समितिले भक्तजनलाई आग्रह गरेको छ ।