धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध भ्रष्टाचार गरेको उजुरी
चितवन/चितवनको रामपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले फाउण्डेसनविरुद्ध उजुरी परेको पुष्टी गरे । सहायक प्रवक्ता भण्डारीका अनुसार रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध इमेलमार्फत् उजुरी प्राप्त भई दर्ता भएको छ ।
उजुरीकर्ताले विभिन्न दातृ निकायको सहयोग, विदेशमा रहेका नेपालीहरुको सहयोग तथा सरकारी संयन्त्रको रकम समेतको सहयोगमा बन्दै गरेको रंगशालामा खर्च भए बराबरको काम नभएको र फाउण्डेसनले नै भ्रष्टाचार गरेको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ । अख्तियारमा उजुरी परेसँगै उक्त उजुरी दर्ता भएको र अब अनुसन्धान सुरु हुने अख्तियारले बताएको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले बनाउने भनेको रंगशालामा हालसम्म ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको बताइएको छ ।
रंगशालाको भौतिक प्रगति भने जम्मा १४ प्रतिशत मात्रै रहेको छ । करिब ३ अर्ब लागतमा बनाउने भनिएको रंगशालामा अनुमान गरिए अनुसारको सहयोग प्राप्त नभएको र आफूहरुलाई १७ करोड ऋण लागिसकेको भन्दै धुर्मुस–सुन्तली फाउण्डेसनले स्वामित्व ग्रहण गरिदिन भरतपुर महानगरलाई आग्रह गरेको थियो ।