चितवनको इच्छाकामना गाउँपालिकामा शिक्षकहरुद्धारा तालाबन्दी
चितवन/गाउँपालिकाले तलब निकासा नदिएको भन्दै चितवनको इच्छाकामना गाउँपालिका कार्यालयमा शिक्षकहरुले तालाबन्दी गरेका छन् । इच्छाकामना गाउँपालिका ५ मुग्लिनस्थित त्रिवेणी बराह माविका शिक्षकहरुले आज गाउँपालिकाको शिक्षा शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दीको कारण गाउँपालिकाको शिक्षा अधिकृत दुर्गादेवी खड्का र स्रोत व्यक्ती भविश्वर गुरुङ एकछिन् भित्रै थुनिन पुगेका थिए ।
गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले उक्त विद्यालयले व्यवस्थापन समिति नबनाएका कारण तलब निकासा रोकिएको बताइन् । उनले भनिन् ‘गाउँपालिकामा ५१ वटा विद्यालय छन् । जसमा ५० वटाले व्यवस्थापन समिति बनाएको छ । तर त्रिवेणी बराह माविले विद्यालय व्यवस्थापन समिति बनाएको छैन । ४ वर्षसम्म हामीले पटकपटक ताकेता गर्दा पनि समिति बनाएन । त्यसले अहिले हामीले तलब निकासा रोकेका हौं ।’
अध्यक्ष गुरुङले अहिले तालाबन्दी खुलिसकेको बताइन् । ‘म बाहिर थिएँ । यहाँ तालाबन्दी भएछ । म आएपछि खुलिसकेको थियो’ उनले भनिन् ।