नेपालमा बुस्टर डोज स्थगित
काठमाडौं/कोरोनाविद्धको बुस्टर डोज नेपालमा स्थगित भएको छ । विश्वका विभिन्न मुलुकमा दिन थालिएको बुस्टर डोज नेपालमा मंगलबारदेखि दिन सुरु गरिएकोमा सोही दिन स्थगित भएको हो । यसअघि रोग प्रतिरोधी क्षमता कमजोर भएका नागरिकमा कोभिडविरुद्धको ‘थप डोज’ लगाउने भनिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारै विज्ञप्ति जारी गर्दै तत्कालका लागि थप डोज लगाउने खोप कार्यक्रम स्थगित गरेको जनाएको हो ।
मन्त्रालयले सबै नागरिकलाई खोपको पूरा मात्रा लगाउन बाँकी नै रहेको जनाउँदै अतिरिक्त मात्र दिने अभियान स्थगित गरेको जनाएको छ । यस विषयमा थप छलफल गरी आगामी माघबाट दिने तयारी गरिने मन्त्रालयले जनाएको छ ।
रोग प्रतिरोधी क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी संक्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिइने मन्त्रालयले तयारी गरेको थियो ।
रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिमा प्रयोग भइरहेको ‘थप डोज’मा विश्वका अधिकांश देशहरुले ‘मिक्स एन्ड म्याच’ डोज प्रयोगमा ल्याइरहेका छन् । दुईवटा भ्याक्सिन मिसाएर दिइएको थप डोजले रोग प्रतिरोधी क्षमतामा उल्लेख्य वृद्धि ल्याएको पाइएपछि मिक्स एन्ड म्याचको थप डोज प्रयोगमा ल्याउन विश्व स्वास्थ्य संगठनले स्वीकृतिसमेत दिइसकेको छ । तर, नेपालमा मंगलबारबाट प्रयोगमा ल्याइने भनिएको अतिरिक्त मात्रामा भने सोही खोप दिइने बताइएको थियो ।