सँगै गाई चराउन गएका बालकबीच झगडा हुँदा एक जनाको मृत्यु

रुकुम पूर्व/सँगै गाई चराउन जङ्गल गएका दुई जना साथीबीच झगडा हुँदा रुकुम पूर्वमा एक बालकको मृत्यु भएको छ । भूमे गाउँपालिका १ लुकुमका आठ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर श्रेष्ठका अनुसार लुकुमको धामता भन्ने जङ्गलमा गाई चराउन गएका ती बालकको नौ वर्षका साथीसँग झगडा भएको थियो । झगडा हुँदा नौ वर्षका साथीले उनलाई कुटपिट गरी भिरबाट धकेलेका थिए । भिरबाट खसालेपछि आठ वर्षीय बालक गम्भीर घाइते भएका थिए । घाइते बालकलाई आफन्तले सोमवार बेलुका रुकुम पूर्व अस्पतालमा ल्याएका थिए । अस्पताल पुर्‍याएलगत्तै डाक्टरले ती बालकलाई मृत घोषणा गरेका हुन् ।

कुटपिट गरेर भिरबाट खसाल्ने नौ वर्षका बालक र सँगै गोठाला गएका अर्का आठ वर्षका बालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर घटनाका अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।