आजदेखि मौसममा सुधार

काठमाडौं/गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएको थियो । आजबाट क्रमशः यो प्रणालीको असर हट्दै जाने र दिउँसो घाम लाग्ने आँकलन गरिएको छ ।

यद्यपि, आज बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव भने कायमै रहेको छ । आज बिहान देशभरको मौसममा आंशिक बदली भएको छ भने केही स्थानमा वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागको केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आज राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।