एमसीसीकै कारण गठबन्धन टुट्दैनः प्रचण्ड

काठमाण्डौ/एमसीसीकै कारणले गठबन्धन नटुट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । आज बिहीवार न्युज एनेन्सीसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मानौँ अप्ठ्यारो नै पर्‍यो भने पनि एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन । त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।’

उहाँले आजकै देशको परिस्थितिमा विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने ठाउँमा नरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले अनुदानको रूपमा देशको भौतिक पूर्वाधार निर्माणको निम्ति आउने सहयोगलाई भने खुसीसाथ स्वीकार्नुपर्छ भन्नुभयो ।

उहाँले एमसीसीबारे केही प्रश्न उठेकाले त्यसबारेमा दलहरूबीच समझदारी हुनुपर्ने र आवश्यक परे संशोधन पनि गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नभयो, ‘एमसीसी प्रोजेक्टका सन्दर्भमा केही प्रश्नहरू उठे र ती गम्भीर ढङ्गले उठे । पहिलो कुरा त यो विषयमा जहाँनेर त्रुटि भएका छन्, जुन–जुन प्रावधानले हामीलाई अप्ठ्यारो पार्ने जस्तो छ, ती प्रावधान सच्याइनुपर्‍यो । त्यसलाई स्पष्ट पारिनुपर्‍यो । जरुरी पर्दा संशोधन पनि गर्नुपर्‍यो । यो विषय अलि गम्भीर र संवेदनशील भइ नै सकेको हुनाले राजनीतिक दलहरूको बीचमा पनि अधिकतम समझदारीको प्रयास गर्नुपर्‍यो ।’

यस्तै प्रचण्डले एमसीसीबारे तीन सदस्यीय कार्यदलले अध्ययन गरिरहेको र त्यसले केही समय लिँदा पनि फरक नपर्ने बताउनुभयो ।