भोलिदेखि चितवनमा इ–पासपोर्ट वितरण हुने
चितवन/भोलिदेखि चितवनमा इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण हुने भएको छ ।
भोलिबाट इ–पासपोर्टका लागि अनलाइन फारम खोल्ने गरी तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए ।
उनका अनुसार अब पासपोर्ट लिनका लागि अनलाइनबाटै फारम भर्नुपर्छ । घरबाटै फारम भर्न सकिने छ । ‘मोबाइलबाट पनि फारम भर्न सकिन्छ । तर नागरिकता र फोटो अपलोड गर्ने क्रममा समस्या सिर्जना भने हुन सक्छ’ पौडेलले भने । अनलाइनबाट मिति र समय पहिले नै बुक गर्नुपर्ने छ ।
उनले आफैले भर्न नसक्नेहरुले जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा आएर पनि कम शुल्कमा अनलाइनबाट फारम भर्न सकिने व्यवस्था गरिने पौडेलले बताए ।
यस्तै अनलाइन फारम भर्ने सेवा दिने पसलहरुमा गएर पनि भर्न सकिने छ । व्यावसायिक पसलहरु फारम भरेको रकम बढी लिएको महशुस भएमा प्रशासनलाई खबर गर्न उनले आग्रह गरे । अनलाइन फारम भर्दा बढी शुल्क लिएमा कारबाही गरिने उनको भनाइ छ ।