तापक्रममा खासै थपघट नभए पनि चिसो हावाले जाडो थप बढायो
काठमाण्डौ/केही दिनयता न्यूनतम तापक्रममा खासै थपघट नभए पनि चिसो हावा चल्न थालेकाले जाडो बढेको हो ।
बिहान हुस्सु कुहिरोसँगै तुसारो पर्न थालेको छ भने दिउँसो र बेलुका चिसो हावा चल्न थालेको छ । यसले गर्दा जाडो बढेको छ । धेरै ठाउँमा तुसारो पर्न थालेको छ । यस्तै, उत्तर पश्चिमी क्षेत्रबाट आएको हावाका कारण पनि चिसो बढेको मौसमविद्ले बताएका छन् ।
उत्तर पश्चिमी क्षेत्रबाट नेपाल आउने हावा हिमाली क्षेत्र हुँदै बहन्छ । हिउँ परेको हिमाली क्षेत्र हुँदै बहने हावा बढी चिसो हुने मौसमविद् शान्ति कँडेलको भनाइ छ । अहिले तराईका जिल्लामा हुस्सु, कुहिरो लागेको छ ।
दिउँसो घाम लागे पनि आंशिक बद्ली हुने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । आज पारिलो घाम नलाग्ने मौसमविद्ले बताएका छन् ।