२० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी

काठमाण्डौ/२० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने सरकारले तयारी गरेको छ ।

पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा हिजोदेखि मोडर्ना खोप अभियान सञ्चालन भएकोमा बाँकी जिल्लामा चाहिँ फाइजर खोप दिन लागिएको हो ।

मन्त्रालयकाअनुसार पुस १३ गतेदेखि काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा फाइजर खोप सञ्चालन हुनेछ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने पछि मिति तोकिनेछ ।

८ जिल्लामा पहिलो मात्रा लगाएकालाई माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा फाइजर खोप दिइने मन्त्रालयले जनाएको छ । यसअघि १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई २० जिल्लामा फाइजर खोप अभियान सञ्चालन भएको थियो ।