वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्ति: बिप्लव

चितवन/नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले
वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको आवस्यकता र महत्त्व झन बढेको बताएका छन।

उनलेे कम्युनिस्ट पार्टीले हतियारधारी सेना मात्र नभएर, विज्ञान–प्रविधिसहितको सूचना सञ्चार मोर्चामा झन् अब्बल ठहरिनुपर्ने बताए । लेनिनले सञ्चार मोर्चालाई प्रचारक, सङ्गठक र आन्दोलनकर्ताका रुपमा परिभाषा गरेको र माओले सत्ता प्राप्त गर्न बन्दुकलाई बढी महत्व दिएको सन्दर्भ उठाउँदै महासचिव विप्लवले एकीकृत जनक्रान्तिमा यी सबै मोर्चा महत्वपूर्ण रहेको प्रस्ट पारे । सञ्चार मोर्चा जनताका मित्र र शत्रु दुबै शक्तिका लागि महत्वपूर्ण शक्ति रहेकाले क्रान्तिकारीहरूले झुट र लुटमा टिकेको दलाल पुँजीवादका खराबी र वैज्ञानिक समाजवाद स्थापनाका लागि जनतामा सही सूचना पुर्याउन सधैँ प्रत्यत्नशील र अब्बल ठहरिनुपर्ने महासचिव विप्लवको भनाई थियो ।
रातोखबर प्रकाशन गृह प्रा.लि.ले बिहीबार चितवनमा आयोजना गरेको राष्ट्रिय स्तरको प्रतिनिधि प्रशिक्षण/भेलामा प्रमुख अतिथिका रुपमा प्रशिक्षण दिँदै महासचिव विप्लवले नेपालको राष्ट्रियता,जनतन्त्र र जनजीविकाको आन्दोलनमा रातोखबर प्रकाशनले प्रभावकारी भूमिका निर्वाह गर्दै प्रतिक्रियावादी राज्यसत्ता, सत्ताले लादेको प्रतिबन्ध र दलाल पुँजीवादी ज्यादती चिर्दै एक स्तरको विजय हासिल गरेको पनि बताए ।
पार्टी कार्यदिशा र कार्यक्रम सही र प्रभावकारी भएकैले रातोखबर प्रकाशन गृहले लडाकु शक्तिको भूमिका निर्वाह गरेको विप्लवले बताए । जनसञ्चार क्रान्तिको अभिन्न अङ्ग भएको बताउँदै महासचिव विप्लवले भने, ‘हामी जित्छौँ । जनताका दुस्मनहरू हारिरहेका छन् । दलाल पुँजीवाद र वैज्ञानिक समाजवादबीच जनतमसङ्ग्रह गराऊँ, हामी जित्छौँ, जनताले जित्छ ।’

महासचिव बिप्लवले प्रचण्ड, बाबुरामहरूले क्रान्तिको कार्यदिशा विकास गर्न नसकेर साम्राज्यवाद–पुँजीवादलाई जित्न नसक्ने भयानक शक्ति देख्दै क्रान्तिकारी आन्दोलनबाट पलायन भएको भन्दै महासचिव बिप्लवले एकीकृत जनक्रान्तीको हतियारले साम्राज्यवाद एवं उनका पाल्तु कुकुरहरूको सजिलैसँग प्रतिरोध गरिरहेको बताए।

रातोखबर प्रकाशन गृहका निर्देशकसमेत रहेका नेकपाका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ ‘प्रज्वलन’ ले विगत अन्तर सङ्घर्षको समय, प्रतिबन्धको समय र त्यसपछि पनि रातोखबर प्रकाशन गृहले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गरेको बताए । जनपक्षीय सञ्चारमाध्यमले विचारसहितको समाचार सम्प्रेषण् गर्नुपर्नेमा जोड दिँदै नेकपा नेता प्रज्वलनले भने, ‘सूचनाहरू धारणा निर्माणका आधार हुन्, यी दृष्टिकोण निर्माणका बीज पनि हुन् । रातोखबरका सूचना आगोका बिउ हुन् । क्रान्तिकारी आन्दोलनमा केन्द्रीकृत प्रतिभाहरूले पुँजीवादी सत्ताका खराबीहरूका विरुद्ध सूचना र विचार सम्प्रेषण गर्नेछन् ।’ जनपक्षीय सञ्चारमाध्यम श्रमिक, उत्पीडित, उपेक्षित वर्ग र जनसमुदायको आवाज बन्नुपर्ने र रातोखबर प्रकाशन गृहले त्यो जिम्मेवारी पूरा गरिरहेको निर्देशक प्रज्वलनले बताए ।

रातोखबर प्रकाशन गृहका देशभरका प्रतिनिधका जिज्ञासाहरूको जवाफ दिँदै गृहका सम्पादक अशोक सुवेदीले क्रान्तिका वैचारिक र सञ्चार सिपाहीका रुपमा क्रियाशील सञ्चारकर्मीले निरन्तर अग्रमोर्चामा रहेर भूमिका निर्वाह गर्नुपर्ने बताए । यसैगरी, जनपत्रकार सङ्गठन नेपालका संयोजक शेरबहादुर विश्वकर्माले क्रान्तिकारी पत्रकारहरू सूचनामा चलाख, अनुसन्धानमा अब्बल र सत्य–तथ्यमा श्रेष्ठ सावित हुनुपर्ने बताए ।

प्रकाशन गृहका सम्पादक अशोक सुवेदीको अध्यक्षतामा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रमको सञ्चालित कार्यक्रममा देशभरका करिब ४० जिल्लाका प्रतिनिधि सहभागी थिए।