चितवनमा निःशुल्क प्राथमिक उपचार तालिम सुरु

चितवन /योगदान राष्ट्रका लागिको आयोजनामा आज शुक्रबारबाट चितवनको भरतपुरमा तीन दिने निःशुल्क प्राथमिक उपचार तालिम सुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले योगदान राष्ट्रका लागिले चालेको अभियान निकै राम्रो भएको बताए । उनले सडकमा दुर्घटना भएपश्चात प्राथमिक उपचार गराउने जनशक्तिकै अभाव भइरहेको अवस्थामा यस तालिमले ठूलो योगदान दिने विश्वास लिएको बताए । उनले योगदान राष्ट्रका लागिले गर्न लागेको अन्य कार्यहरु राम्रो भएकाले प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको बताए ।

कार्यक्रमका संयोजक एवम् योगदान राष्ट्रका लागिका उपाध्यक्ष एकराज बुर्लाकोटीले आफ्नो संस्थाको मुख्य उद्देश्य प्राथमिक उपचार हाम्रो सरोकार रहेको बताए । उनले सोही उद्देश्यअनुरुप चितवनमा तालिमको आयोजना गरिएको बताए । प्राथमिक उपचारको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने आफूहरुको प्रमुख उद्देश्य रहेको उनले बताए ।

एक घर एक प्राथमिक उपचार स्वयमसेवक भन्ने अभियान बोकेर आफूहरु हिँडेको उनले बताए । दुई महिनाअघि सुर्खेतमा यही कार्यक्रम गरिएको बताउँदै उनले प्रत्येक दुई महिनामा यो कार्यक्रम गर्ने योजना रहेको सुनाए ।

नेपालका सबै जिल्लामा कार्यसमिति विस्तार गरी सबै जिल्लामा तालिम आयोजना गर्ने योजना रहेको उनले बताए । हालसम्म ६२ जिल्लामा संस्थाको कार्यसमिति बनिसकेको छ ।

बुर्लाकोटीका अनुसार आजबाट चितवनमा सुरु भएको तालिममा चितवनका ११३ र बाहिरी जिल्लाबाट ५७ जना गरी १७० जना प्रशिक्षकको सहभागीता रहेको छ । संस्थाका अध्यक्ष ओम उप्रेतीले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिनेछन् ।

सरकारी तवरबाट कुनै सहयोग नभए पनि योगदान राष्ट्रका लागिमा आवद्धहरु र विभिन्न सामाजिक व्यक्तित्वहरुको आर्थिक सहयोगमा सञ्चालन गरिएको बुर्लाकोटीले बताए ।