मावि तहमा १५ सय ४७ शिक्षकको आवेदन खुला

काठमाण्डौं/शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो ।
आयोगले खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता र पिछडिएको क्षेत्रका उम्मेद्वारको लागि पनि कोटा तोकेर विज्ञापन गरेको हो । नेपाली विषयको लागि २ सय ३१ जना शिक्षकको माग भएको छ । यस्तै, अंग्रेजी विषयको लागि तीन सय १२ जना, गणितको लागि दुई सय ८९ जना, विज्ञानको लागि चार सय ३५ जना, सामाजिक विषयको लागि दुई सय एक जना र अर्थशास्त्र विषयमा १० जनाको लागि विज्ञापन गरिएको आयोगले जनाएको छ ।

यस्तै कार्यलय सञ्चालन तथा लेखा विषयको लागि ५१ जना, शिक्षाको लागि एक जना, शुक्लयजुर्वेदमा दुई जना, स्वास्थ्यमा दुई जना, संस्कृत व्याकरणको लागि २ जना, संस्कृत भाषाको लागि तीन जना, संस्कृत साहित्यको लागि एक जना, कम्प्युटर विज्ञानको लागि ६ जना र न्याय विषयको लागि एक जना शिक्षक विज्ञापन खुला भएको हो । लिखित परीक्षा चैत १५ गते हुने आयोगले जनाएको छ । इच्छुक उम्मेदवारहरुले आयोगका आधिकारिक वेबसाइट https://online.tsc.gov.np/ मा गएर अनलाइन दरखास्त दिन सक्नेछन् ।