कांग्रेस सभापतिमा २७२४ मत प्राप्त गरी शेरबहादुर देउवा निर्वाचित!

काठमाडौं/नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४५७४ मतमध्ये देउवाले २७२४ मत प्राप्त गरी
विजयी हासिल गरेका हुन।

यस्तै डा. शेखर कोइरालाले १८१७ मत ल्याए । ३३ मत बदर भएको छ । यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गर्न भने अझै बाँकी छ ।

सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारहरुले ५० प्रतिशत कटाउन नसकेपछी दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाको प्रतिस्पर्धा थियो ।

दोस्रो चरणको मतदानमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेसंगै निर्वाचन अघि नै उनको जीत सुनिश्चित बनेको हो। निर्वाचनको मत परिणामले पनि देउवालाई साथ दिएपछि उनी फेरि ५ बर्ष सभापति रहनेछन्।