काग्रेस सभापति पदको चुनाव दोस्रो चरणमा, देउवालाई निर्वाचित हुन ८२ मत पुगेन

काठमाडौं/नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आज बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो ।
मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो चरणमा  डा. शेखर कोइरालाले १७२९, तेस्रो स्थानमा प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।