अवैध नेटवर्किङ्गमा फसाएर ठगी गर्ने तिन जना प्रहरी नियन्त्रणमा

चितवन/अवैध नेटवर्किङ्गमा फसाएर चितवनवासीलाई ठगी गर्ने तिन जनालाई प्रहरी नियन्त्रणमा लिएकोे छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु नेट’ नामक नेटवर्किङ्गमा संलग्न २८ वर्षीय भारतीय नागरिक जितेश बर्मा, अर्का भारतीय नागरिक ३४ वर्षीय अंकित शर्मा र भरतपुर १६ निवासी ३६ वर्षीय सरोज घिमिरेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले बताए ।

उनीहरुलाई भरतपुरमा रहेको सिजी ल्याण्डमार्कको फ्रेन रेसिडेन्सी होटलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । होटलमा केही मानिसहरु जम्मा गरेर नेटवर्किङ्गमा लाग्न प्रेरित गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए । नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

उनीहरुले ‘क्यु नेट’ नामक नेटवर्किङ्ग सञ्चालन गरिरहेका थिए । उनीहरुले केही मानिसलाई पहिल्यै सदस्य बनाएर लगानी गर्न लगाइ सकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए । उनीहरुले थप मानिसलाई सदस्य बन्न प्रेरित गरिरहेका थिए ।

कति मानिस सदस्य बने भन्ने कुरा अझै पनि अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ । उनीहरुविरुद्ध ठगीमा परेकाहरुले ठगी मुद्दामा प्रहरी कार्यालयमा जाहेरी दिइसकेका छन् ।

‘क्यु नेट’ दर्ता पनि नगरिएको र यो नितान्त ठग्ने उद्देश्यले आएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी अधिकारीले बताए ।