कांग्रेस महाधिवेशनः नयाँ नेतृत्वका लागि आज मतदान

काठमाण्डौं/नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वको लागि मतदान हुँदैछ । १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता चयन गर्न मतदान हुन लागेको हो । बिहान आठ बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान चल्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि तीन ठाउँमा मतदान केन्द्र स्थापना गरिएको छ । राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृरशुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नम्बर २ र गण्डकी प्रदेशका प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था गरिएको छ ।

भृकुटीमण्डपको हलमा प्रदेश नम्बर १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । चुनावमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि कागजको मतपत्रमा नै मतदान गर्नुपर्दा एक जनालाई मतदान गर्न झण्डै एक घण्टा लाग्ने अनुमान रहेको निर्वाचन समितिले जनाएको छ । महाधिवेशनमा चार हजार ७ सय ४३ जना प्रतिनिधिले मतदान गर्नेछन् ।
कांग्रेस विधानमा एक सभापति, दुई उपसभापति, दुई जना महामन्त्री, आठ सहमहामन्त्री गरी १३ जना पदाधिकारी निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । यसैगरी, सदस्यहरूमा खुलातर्फ ३५ समेत गरी १ सय २१ जना विभिन्न प्रदेश तथा समावेशी समूहबाट गरी निर्वाचित हुनेछन् । यसरी कुल १ सय ३४ जनाको कार्यसमिति निर्वाचनमार्फत चयन हुने विधानको व्यवस्था छ ।
सभापतिमा ५ जना, उपसभापति पदमा ७ जना तथा महामन्त्रीमा ६ जनाको उम्मेदवारी दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसैगरी, आठ सहमहामन्त्री पदमा १९ जनाको उम्मेदवारी कायम भएको छ ।