१४ लाख ९७ हजार मात्रा मोर्डना खोप नेपाल आइपुग्यो

काठमाण्डौं/कोराना भाइरसविरुद्धको १४ लाख ९७ हजार मात्रा मोर्डना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मात्रा मोडर्नाको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।

कोभ्याक्स सुविधाअन्तर्गतको खोप अमेरिकाबाट कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो । हिजो बुधवार कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिशिल्ड खोप भारतबाट ल्याइएको थियो ।

आज आएको मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ । यही मङ्सिर २६ गते थप १९ लाख ६५ हजार मोडर्ना खोपको मात्रा ल्याउन लागिएको चौरसियाले बताउनुभयो । केही दिनअघि मात्र एक लाख ८४ हजार चार सय मात्रा मोडर्ना खोप ल्याइएको थियो ।

सरकारले बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको विभागले जनाएको छ ।