आजदेखि मतदाता नामावली सङ्कलन हुने
काठमाण्डौं/निवार्चन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन गर्दैछ । आयोगले आजदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने बताएको छ ।
अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको आयोगका सह प्रवक्ता कोमलप्रसाद धमलाले बताउनुभयो । निर्वाचन आयोगले ६ सय ३७ वटा स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु गर्ने भएको छ ।
मतदाता नामावली सङ्कलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिन र तराई, भित्रि मधेश तथा काठमाडौँ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ । १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।
मतदाता नामावलीमा नाम समावेश गर्न छुट भएका आम नागरिक तथा विभिन्न सरोकारवालाहरूलाई स्थानीय स्तरमै पुगी मतदाता नामावली दर्ता गराउन निर्वाचन आयोगले सबै समक्ष अनुरोध गरेको छ ।