काँग्रेसको प्रदेश अधिवेशन आजबाट सुरू

काठमाण्डौ/नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत आजबाट प्रदेश अधिवेशन सुरु हुन लागेको छ । मुलुक सङ्घीय संचरनामा गएपछि नेपाली काँग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो ।

आज प्रदेश अधिवेशन उद्घाटन गर्ने साथै मतदाता नामावली प्रकाशन गर्ने, भोली मनोनयन दर्ता गर्ने र पर्सि चुनाव गर्ने कार्यतालिका रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरधाम, बागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा अधिवेशन हुने श्रेष्ठले बताउनुभयो ।

प्रदेश अधिवेशन गर्नका लागि काँग्रेस केन्द्रीय समितिबाट सात जना नेतालाई अध्यक्षतासहित संयोजन गर्ने गरी जिम्मेवारी दिइएको छ । प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुन्छन् ।

काँग्रेसले प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने गरी व्यवस्था गरेको छ । प्रदेश कार्यसमिति सदस्यहरू पनि प्रदेशमा रहनेछन् । कोषाध्यक्ष भने मनोनित गर्ने व्यवस्था छ ।