आजदेखि थप चिसो बढ्ने, सचेत हुन मौसमविद्को सुझाव
काठमाण्डौं/आजदेखि थप चिसो बढ्ने भएकाले सचेत हुन मौसमविद्ले सुझाव दिएका छन् ।
हिजो बेलुकादेखि नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार यसकै प्रभावले आजदेखि देशको धेरै ठाउँको मौसम आंशिकदेखी सामान्य बदली भइ उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ । यी प्रदेशहरुका पहाडी तथा तराइका केही भू–भागहरुमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना पनि रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।