नेकपा एमाले अध्यक्षमा फेरि केपी ओली, औपचारिक घोषणा हुन बाँकी

चितवन/नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली दोहोरिने भएका छन् । एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अनुसार ओली अध्यक्षमा दोहोरिने पक्का भएको हो ।

ओलीले प्रतिस्पर्धी भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । तर, औपचारिक घोषणा हुन भने बाँकी छ ।

निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेरदवार ओलीले १८०८ मत ल्याएका छन् । त्यस्तै उनका प्रतिस्पर्धि भीम रावलले २१३ मत पाएका छन् ।

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले भोट हालेका थिए ।

ओली नवौं महाधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । ओलीले आफू सर्वमम्त पुनः अध्यक्ष बन्ने प्रयास गरेका थिए । सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै रावलले उम्मेदवारी दिएका थिए ।