उपचारवापतको १९ हजार रूपैयाँ तिर्न नसक्दा अस्पतालबाटै हामफालेर आत्महत्या प्रयास

विराटनगर/उपचारवापतको १९ हजार रूपैयाँ तिर्न नसक्दा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालबाटै हामफालेर आत्महत्याको प्रयास गरेका छन् । मोरङको धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय शिवकुमार मण्डलले आज बिहान ६ बजे अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेका हुन् ।आत्महत्याका प्रयास गरेका मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनको सोही अस्पतालमा उपचार भईरहेको छ ।
छारे रोगको पुरानै समस्या रहेका उनलाई उपचारका लागि मंसिर ३ गते परिवारले अस्पताल भर्ना गरेका थिए । आइसियूमा राखेर अस्पतालले उनको उपचार गरेको थियो । आइसियूबाट वार्डमा सारेपछि अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको थियो । तर, उपचारवापतको १९ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन् ।

मण्डलको उपचारमा जम्मा ३६ हजार रूपैयाँ खर्च भएको थियो । उपचारमा लागेकोमध्ये १७ हजार रूपैयाँ मात्रै परिवारले तिर्न सक्यो । १९ हजार रूपैयाँ तिर्न नसकेका कारण मण्डललाई अस्पतालले बन्धक बनाएर राखेको थियो । उनलाई अस्पतालमा कुरुवा उनकै सासू बसेकी थिइन् । सासू शौचालय गएका बेला मण्डलले अस्पतालबाटै हामफालेका थिए ।