एमालेको १०औं महाधिवेशन नारायणी नदी किनारमा आजबाट सुरु
चितवन/नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी किनारमा सुरु हुँदैछ । महाधिवेशनका लागि सबै तयारी पूरा भैसकेका छन । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताकार्यकर्ता बिहीबार चितवन आइसकेका छन । तुल, ब्यानर, झन्डाले चितवन झकिझकाउ बनेको छ।
नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र हुनेछ । महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट झण्डै पाँच लाख नेतारकार्यकर्ता सहभागी हुने नेकपा एमालेले जानकारी दिएको छ ।
आज दिउँसो १२ बजे महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ। बन्दसत्रमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुँदैछन् । कार्यक्रमको उद्घाटनसत्र हुने नारायणी नदी किनारमा मञ्चसहितका सबै संरचना तयार भएका छन् । ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ’सेल्फी प्वाइन्ट’ बनाइएको छ । चितवनका हरेक घरमा निमन्त्रणा पत्र पठाइएको छ ।
एमालेले महाधिवेशनमा प्यानल बनाए कारबाही गर्ने बताउदै पर्चा–पम्प्लेटमा पनि बन्देज लगाएको छ । मतदानका लागि एक सय वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएको छ । सुरक्षाका लागि प्रशासनले १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्दैछ । नारायणगढ बजार क्षेत्रमा मालवाहक गाडी आवतजावतमा रोक लगाइए पनि अत्यावश्यक गाडी चल्न पाउने व्यवस्था गरिएको छ ।