नेपाली कांग्रेस निर्वाचन क्षेत्र अधिवेशनः १३५ क्षेत्रबाट ३५०० बढी प्रतिनिधि
काठमाडौं/नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन सुरु हुन दुई साता अघिसम्म तीन हजार ५१० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३५ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको जानकारी दिए ।
काँग्रेसको विधानअनुसार, हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने प्रावधान छ ।
सचिव श्रेष्ठले अब ३० वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी रहेको जानकारी दिए । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।