पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज विप्लवको बन्द
चितवन/पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले गरेको चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत आज नेपाल बन्दको कार्यक्रम रहेको छ ।
नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प छन् । सहरका केही भित्री भागमा भने पसल फाटफुट खुलेका छन् । कतिपय जिल्लामा सीमित मात्रामा मोटरसाइकल चलेका छन् ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासमा ७५ रुपैयाँ र डिजेल तथा पेट्रोलमा ३–३ रुपैयाँ मूल्य बढाएको थियो । निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरे लगत्तै नेकपाले कार्तिक २५ गते (बिहीवार) देखि ६ दिने देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
महासचिव ‘विप्लव’ ले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिले आयात गरिने सबै सामानहरुको मूल्य बढ्ने र त्यसको प्रत्यक्ष मार जनतामा पर्ने भन्दै आफ्नो पार्टी जनसरोकारको अन्यायपूर्ण उत्पीडनलाई मूकदर्शक भएर हेरिरहन नसक्ने बताएका छन् ।
उनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले नेपाली उपभोक्ता कैयौ गुणा मारमा परेकाले आफू नेतृत्वको पार्टीले संघर्षको कार्यक्रम घोषणा गरेको वक्तव्यमार्फत जनाएका छन् ।