हत्यापछि सेफ्टी ट्याङ्कीमा शव, घटनामा संलग्न भएको आशंकामा ५ जना पक्राउ

झापा/झापाको गौरादह ५ चप्रमारीमा एक व्यक्तिको हत्या गरी शव सेफ्टी ट्याङ्कीमा फालिएको अवस्थामा फेला परेको छ ।  ४६ वर्षीय मबेसीर हुसेन मियाको शव सोही ठाउँका मोहम्मद सद्दामको घरको  सेफ्टी ट्याङ्कीमा भेटिएको हो ।
घटनामा संलग्न भएको आशंकामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षीय मोहम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, २६ वर्षीय मोहम्मत सुलेमान, उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र त्यसै ठाउकी ३८ वर्षीया कुर्सुमान खातुन रहेका छन् ।
घटनामा अन्य केही व्यक्ति संलग्न रहेको आशंका गरिएको प्रहरीको भनाइ छ । उनीहरुको साथबाट धारिलो हतियार दाउ, छुरी, मार्तोल लगायतका सामाग्री पनि बरामद भएका छन् ।

मिया गत कात्तिक ११ गतेदेखि हराएको भनी उनकी श्रीमती नुरजन खातुनले खोजी गरिदिन प्रहरीमा जोहरी दिएकी थिइन् ।
दमकबाट खटिएको ईलाका प्रहरी कार्यालय दमकको टोलीले खोजी गर्ने क्रममा सोही ठाउँका मोहम्मद सद्दामको घरमा शंकास्पद निशाना देखिएपछि अनुसन्धान केन्द्रित गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार सद्दामको घरमा रगतका केही टाटा देखिएका थिए ।
सो घरममा अनुसन्धान गर्दा घरममा भर्खरै रंग लगाएको, ट्वाइलेटको सेफ्टी ट्याङ्कीमाथि गोवरका गुइठा बनाएर राखेको पाइएको प्रहरीले जनाएको छ । ट्याङ्की खाली गर्दा शव फेला परेको हो । शवलाई कम्बलमा पोको पारी त्यहाँ हालिएको अवस्थामा भेटिएको छ।
शव फेला परेपछि परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई शव परिवारको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जानकारी दिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । व्यक्तिगत रिसिवीका कारण घटना भएको प्रहरीको भनाइ छ ।