मुस्ताङमा फेरि हिम पहिरो जाने जोखिम

पोखरा/हिमाली जिल्ला मुस्ताङमा फेरि हिम पहिरो जाने जोखिम रहेका भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा हिजो बिहान ११ बजेर २० मिनेटमा निकै ठूलो हिम पहिरो गएको थियो । अझै पनि त्यो क्षेत्रमा बाक्लो हिउँका ढिस्कोहरु रहेकाले फेरि हिउँ पग्लिएर खस्ने खतरा रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

हिम पहिरो खस्दा तीव्र गतिमा आउने हावाको वेगले बस्तीमा असर गर्न सक्ने भएकाले सावधानी अपनाइएको उहाँले बताउनुभयो । हिजो भागदौड मच्चिँदा दुई जना शिक्षक, एक जना विद्यालयका कर्मचारी र ८ जना विद्यार्थी घाइते भएका छन् । त्यस्तै जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी बेपत्ता भएका छन् ।